काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । मृतक २१ वर्षीया मुना पाण्डे हुन् ।

सोमबार साँझ आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी पाण्डेको छातीमा गोली लागेको ह्युस्टन प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको अनुसन्धान भइरहेको छ । हालसम्म कुनै संदिग्ध पक्राउ परेका छैनन् ।

OM Sai Pathibhara Hospital

नेपालको भोजपुर घर भएकी पाण्डे २०२१ मा अमेरिका आएर ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहको अध्ययन गरिरहेकी थिइन् । स्थानीय सञ्चारमाध्यका अनुसार एकल आमा अनिता पाण्डे अधिकारीकी छोरी मुना एक अमेरिकी युवकसँग प्रेम सम्बन्धमा थिइन् । पछिल्लो समय आफ्नो सम्बन्धलाई लिएर उनी चिन्तित भएको बताइएको छ ।

छोरीको असामयिक निधनबाट स्तब्ध भएकी आमाले हत्यारालाई कारबाही गर्न प्रहरीसँग आग्रह गरेकी छन् । उनले न्यायको लागि अमेरिकामा रहेका नेपाली समुदायलाई पनि सहयोग गर्न आग्रह गरेकी छन् । मुनाका साथीहरू र अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूले पनि न्यायको माग गरिरहेका छन् ।