काठमाडौं–नेपालगञ्जबाट अवैध सुनचाँदीसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारु, राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार र बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी पक्राउ परेका हुन। 

उनीहरूलाई बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारसहित पक्राउ गरिएको हो । प्रहरीले उनीहरूबाट करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी बरामद गरेको छ । यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट पनि केही सुनचाँदी बरामद भएको छ ।

OM Sai Pathibhara Hospital

बरामद गरिएको सुनचाँदी र सवारी साधनसहित रु एक करोड पाँच लाख ३३ हजार चार सय ४७ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएको सुनचाँदी र गाडीलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।