एजेन्सी- अष्ट्रेलियाली सरकारले विदेशी विद्यार्थी भर्ना सीमित गर्ने भएको छ । 

सन् २०२५ मा विश्वविद्यालय र व्यवसायिक शिक्षा प्रदायकमाझ नयाँ विदेशी विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको हो । 

OM Sai Pathibhara Hospital

घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यवसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार विदेशी विद्यार्थीलाई अनुमति दिनेछ ।

शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जानकारी गरएका छन् । 

विदेशी विद्यार्थीको सङ्ख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने अष्ट्रेलियाली सरकारको तयारी रहेको क्लेयरले बताए । 

घोषणा अनुसार विदेशी विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् । नयाँ नियम अनुसार निर्धारित सीमाहरू संसदले पारित गरेपछि लागु हुनेछ । 

यसअघि सत्तारुढ लेबर पार्टीले सन् २०२२-२३ मा अष्ट्रेलियाको कुल आप्रवासन सङ्ख्या पाँच लाख २८ हजारबाट घटाएर सन् २०२४-२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित विदेशी विद्यार्थी सङ्ख्या सीमित गर्ने योजना घोषणा गरेको थियो ।