काठमाडौं–अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने सयौँ भारतीय, नेपाली, र भियतनामी आप्रवासीहरू ब्राजिलको साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्। तीमध्ये करिब एक सय नेपाली रहेका छन्, जो मानव तस्करहरूको प्रलोभनमा परेर लाखौं रुपैयाँ बुझाएर अमेरिका जाने प्रयासमा थिए।

सार्वजनिक डिफेन्डर कार्यालय र रोयटर्सले प्राप्त गरेका कागजातहरूका अनुसार, ती आप्रवासीहरू भुइँमा सुतेर ब्राजिल प्रवेशको पर्खाइमा छन्। ब्राजिल सरकारले शरणार्थी बन्ने र त्यसपछि अमेरिका छिर्ने योजना बनाएका आप्रवासीहरूलाई प्रवेश अनुमति नदिएपछि उनीहरू विमानस्थलमै बस्न बाध्य भएका हुन्। 

OM Sai Pathibhara Hospital

एक अधिकारीका अनुसार घानाका एक ३९ वर्षीय आप्रवासीको दुई हप्ताअघि अज्ञात कारणले मृत्यु भएको थियो। उनको मृत्यु विमानस्थलमा भयो वा अस्पताल लैजाँदै गर्दा भयो भन्ने कुरा खुल्न सकेको छैन।

ब्राजिलस्थित नेपाली दूतावासले करिब एक सय नेपाली अलपत्र परेको पुष्टि गरेको छ। दूतावासले ब्राजिल सरकारसँग नेपालीहरूको अवस्थाबारे छलफल गरिरहेको छ र समस्या परेमा तत्काल सहयोग गर्न तयारी अवस्थामा रहेको जनाएको छ।

ब्राजिलले आफ्नो भूमिलाई ट्रान्जिट बनाएर शरण लिने प्रयास गर्ने विदेशी नागरिकहरूका लागि प्रवेश नियमहरू कडा बनाएको छ। सोमबारदेखि लागू नयाँ नियमअनुसार भिसाविहीन विदेशी यात्रीहरूले आफ्नो अन्तिम गन्तव्यमा सीधा यात्रा गर्नुपर्नेछ वा आफ्नो देश फर्कनुपर्नेछ। 

सार्वजनिक डिफेन्डर कार्यालयले आप्रवासीहरूको मानव अधिकार उल्लङ्घन भएको र उनीहरूको स्वास्थ्य बिग्रँदै गएको बताएको छ। उनीहरूलाई सीमित आवागमन र शौचालयको पहुँच नभएको क्षेत्रमा राखिएको छ, जसले गर्दा उनीहरूलाई खाना र पानी प्राप्त गर्न कठिनाइ भइरहेको छ। बालबालिका र किशोरकिशोरीहरू कम्बल बिना जाडोमा बस्न बाध्य छन्। 

ब्राजिलको शरणार्थी समितिका प्रमुख, जीन उएमाले, यी नियमहरू विशेष रूपमा साओ पाउलो विमानस्थलमा लागू हुने र शरण खोज्नेहरूमाथि ब्राजिलको नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन्। तर, अन्तर्राष्ट्रिय आप्रवासी संगठनका ब्राजिल प्रमुख, जोआओ ग्रेलोले भने, ब्राजिलले १९५१ को शरणार्थी महासन्धिको उल्लङ्घन गर्न लागेको चेतावनी दिएका छन्।