काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ टेलिभिजन कार्यक्रममा प्रसारित भएको प्रकाश तामाङको कथाप्रति गहिरो चासो व्यक्त गरेका छन् । बाल्यकालमा काठमाडौंमा गलैंचा कारखानामा काम गर्न आएका प्रकाश वर्षौंसम्म परिवारबाट टाढा रहेर हिमालयको चुम भ्याली पुगेका थिए ।

कार्यक्रमले प्रकाशलाई उनको परिवारसँग पुनर्मिलन गराएको कथा प्रस्तुत गरेसँगै यो विषय चर्चामा रहेको छ । प्रधानमन्त्री ओलीले यो कथा हेरेर निकै भावुक भएको भन्दै प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले प्रकाशको भिडियो साझा गर्दै फेसबुकमा लेखेका छन्,

हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । 

हेर्ने कथाको पछिल्लो एपिसोड 'हराएका वर्षहरू' हेरेँ ।  प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें - यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान्! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली 'स्टोरी टेलर' हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!