विराटनगर- झापा र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।
झापाको मेचिनगर नगरपालिका-६ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले हिजो साँझ २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-२ का २४ बर्षीय खुमराज भण्डारी र दमक नगरपालिका-११ का २४ बर्षीय निलजङ बस्नेत रहेका छन् ।
भण्डकारीको साथबाट ५ ग्राम ब्राउन सुगर र बस्नेतको साथबाट २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ५ प ८०९९ नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका- ८ का २६ बर्षीय दिनेश कटुवाल र सोहि मोटरसाईकलमा पछाडी सवार २७ बर्षीय सन्देश कार्कीको साथबाट नियन्त्रित औषधी एम्पुल-३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल फेला पारी नियन्त्रणमा लिईएको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।