काठमाडौं-कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने तयारी भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले ठूलो परिमाणमा अनुदान लग्नेहरूको कुनै काम नदेखिएको बताए ।

OM Sai Pathibhara Hospital

कृषि मन्त्रालयले पछिल्लो ५ वर्षको बीचमा अरबौं रुपैयाँ अनुदान दिएपनि त्यसबाट काम भएको नदेखिएकाले खोजी गरेर सार्वजनिक गर्न मन्त्रालय लागिपरेको उनको भनाई छ । 

‘२०/२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन’, उनले भने, ‘यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिंदैन भने कसले दिंदैन ? म कहाँ ल्याउ भनेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’

मन्त्री अधिकारीले दुग्ध विकास संस्थानले जनतासँग उधारोमा दूध किनेर पैसा नतिर्न नसुहाउने तर्क गरे ।  

आफू मन्त्री पदमा बहाली भएपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको मन्त्री अधिकारीको दाबी छ ।