काठमाडौं— प्रहरी बिटभित्रै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ। भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो। 

हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ। कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरिरहेकी बालिकालाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि छ।

OM Sai Pathibhara Hospital

घटना गत २९ असारको हो। सुरुमा दुईजना प्रहरी गएर रातिसम्म किन बाहिर बसेको भनेर बालिका र अर्का युवकलाई घर जान भनेर सम्झाएका थिए। त्यसको केही समयपछि हवल्दार श्रेष्ठ एक्लै सो स्थानमा पुगेका थिए। त्यहाँबाट उनले दुवैजनालाई पक्राउ गरी बिटमा लगे। युवकलाई छाडेर बालिकालाई बिटभित्रै रहेको कोठामा राखी बलात्कार गरेको भन्दै मुद्दा दायर भएको हो। 

हवल्दार श्रेष्ठले आरोप अस्वीकार गरेका थिए। तर, पोलिग्राफ परीक्षणमा उनले झुटो बोलेको भनेर प्रतिवेदन आएको छ। गत २५ साउनमा जिल्ला अदालत, भक्तपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलले हवल्दार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएका छन्। 

पीडित बालिकाले घटनाको भोलिपल्ट आफू पढ्ने विद्यालयका शिक्षकलाई त्यसबारे बताएकी थिइन्। त्यसपछि शिक्षककै पहलमा भोलिपल्ट प्रहरीमा उजुरी परेको हो। अनुसन्धानका क्रममा घटना साँचो देखिएपछि ३० असारमै उनलाई पक्राउ गरी मुद्दा दायर भएको हो। 

पीडितका अनुसार बलात्कारपछि बिहान ३ बजे ती बालिकालाई उनले सय रुपैयाँ दिएर घर पठाएका थिए। बिटमा रहेको बेडको तन्नासमेत उनले प्रमाण नष्ट गर्ने उद्देश्यले भोलिपल्ट बिहानै धोएको समेत अभियोगपत्रमा उल्लेख छ।