काठमाडौं—ब्राजिलको साओ पाउलो राज्यमा ६१ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ।

भीओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको हो।

OM Sai Pathibhara Hospital

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। 

दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो। स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको पुष्टि गरेका छन्।

भालिन्होस नगरपालिकाका अधिकारीहरूका अनुसार, विमानमा सवार ५७ यात्रु र ४ जना चालक दलका सदस्य सबैको मृत्यु भएको छ। अहिलेसम्म दुर्घटनाको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन। र विमानस्थलमा रहेको टोलीले अनुसन्धान गरिरहेको छ।