काठमाडौं–आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन भएकी बङ्गलादेशकी निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदलाई बेलायतले शरण नदिने भएको छ । हसिनाले बेलायतमा शरणको लागि अपिल गरे पनि बेलायत सरकारले अस्विकार गर्दै अन्यत्र विकल्प खोज्न सुझाएको हो । 

बेलायतको विदेश मन्त्रालयले बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार हसिना रहेको दाबी गर्दै आगामी अनुसन्धानको कारणले बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता डेभिड लाम्मीका अनुसार, बेलायत सरकार बङ्गलादेशमा स्वतन्त्र र निष्पक्ष छानबिनको पक्षमा रहेको छ ।

विद्यार्थीको उग्र प्रदर्शनपछि सोमबार राजीनामा दिएर हसिना भारतमा पलायन भएकी थिइन् । उनी बेलायतमा शरण लिनका लागि प्रयास गरिरहेकी थिइन् । भविष्यमा हुने अनुसन्धानले बेलायतबाट बङ्गलादेश फिर्ता पठाउनुपर्ने अवस्था सिर्जना गर्न सक्ने भएकाले अन्य मुलुकहरूमा शरणका लागि अपिल गर्न सुझाव दिइएको छ । 

यसअघि, बेलायत सरकारले बङ्गलादेशमा घटित घटनाको संयुक्त राष्ट्रसंघले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने धारणा दिएको थियो, जसले हसिनालाई बेलायतमा शरण लिन अप्ठ्यारो पारेको छ ।