काठमाडौं–बाजुरामा स्याउ टिप्ने बेला सडक अवरुद्ध भएको छ, जसले किसानहरूलाई चिन्तामा पारिरहेको छ। हिमाली, स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा नगरपालिकालगायतका विभिन्न क्षेत्रमा स्याउ टिप्ने समय भएको छ, तर मार्तडीदेखि कोल्टी सडक लामो समयदेखि बन्द रहेको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले सडक अवरुद्ध हुँदा स्याउ बजारमा लैजान समस्या भएको बताए । उनी भन्छन्, ‘बारीमा स्याउ टिप्ने बेला भयो, तर सडक बन्द छ ।’ सडक खुल्न अझै समय लाग्ने बताइएको छ । 

OM Sai Pathibhara Hospital

अविरल वर्षाका कारण बडीमालिका नगरपालिकाको जिल्लीमा गएको पहिरोका कारण मार्तडी–कोल्टी सडक अवरुद्ध भएको भौतिक पूर्वाधार विकास अछामका प्रमुख रुद्धबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार, सडक मर्मतको काम केही दिनमै सुरु गरिने छ।

गत वर्षमा निर्माण गर्न थालिएको शीतभण्डार अहिलेसम्म सञ्चालनमा आएको छैन, जसकारण स्याउ लामो समय स्टोरमा राख्न समस्या भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बजेट अभावका कारण यो वर्ष स्याउ ढुवानी अनुदानको व्यवस्था गर्न नसकिने बताए ।

बाजुरामा स्याउ उत्पादनमा वृद्धि भइरहेको छ, विशेषगरी गाल्भा, फुजी, गोल्डेन जस्ता प्रजातिहरूको उत्पादन बढेको छ । ३७० हेक्टर जमिनमा स्याउ उत्पादन हुने गरेको छ । गोरखापत्र दैनिकबाट