काठमाडौं–बंगलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै गएको छ । आइतबार हजारौं प्रदर्शनकारी सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गरेका थिए । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा ९७ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् ।
हिंसा नियन्त्रणका लागि सरकारले देशभर कर्फ्यु लगाएको छ । साथै आगामी तीन दिन बिदा घोषणा गरिएको छ । देशभरका अदालत पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् । सर्वोच्च अदालतले अति महत्वपूर्ण मुद्दाको लागि मात्र आपतकालीन इजलास गठन गर्ने निर्णय गरेको छ ।
यससँगै, पछिल्लो तीन हप्तामा आरक्षण विरोधी प्रदर्शनमा मारिनेको संख्या तीन सय नाघेको छ । गत महिना भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भएको थियो ।
यस आन्दोलनको नेतृत्व मुख्यतया विद्यार्थी संगठनहरूले गरिरहेका छन् । उनीहरू सरकारी सेवामा आरक्षणको विरोध गर्दै आएका छन् । सरकारले आन्दोलन साम्य पार्न कडा कदम चालिरहेको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरिरहेका छन् । तर, प्रदर्शनकारीको आक्रोश कम हुने संकेत देखिएको छैन ।