काठमाडौं–बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलन हिंसात्मक बन्दै गएको छ । शनिबार भएका प्रदर्शनमा ९० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्ट जस्ता शहरहरूमा पसलहरू लुटिएका छन् भने प्रहरीमाथि आक्रमण गरिएको छ ।
लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो । एक प्रहरीको टाउकोमा चोट लाग्यो भने अर्कोलाई बाइकबाट निकालिएको थियो । मर्सीसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
साउथपोर्टमा भएको हत्या घटनाले तनावलाई बढाएको छ । गत सोमबार गायिका टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि स्थिति झनै बिग्रिएको हो ।
प्रधानमन्त्री केयर स्टार्मरले घृणा फैलाउने चरमपन्थीहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र हिंसा दुई फरक कुरा भएको बताए । यस हिंसात्मक प्रदर्शनले बेलायतमा सामाजिक सद्भावमा चुनौती उत्पन्न भएको छ ।