काठमाडौं— वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ। हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ। यो तथ्याङ्क कल्चर गरेर आएको हो। यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको जानकारी दिए । 

OM Sai Pathibhara Hospital

एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ। शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ। निर्देशक डा. घिमिरेले हैजा महामारीजन्य रोग भएकाले एक व्यक्तिलाई हैजा छ भने उसको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताए । 

डा. घिमिरेले हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जनचेतना जनस्तरमा बढाउनुपर्ने बताए।

डा. घिमिरेका अनुसार हैजा भिब्रियो कोलेरा नामक कीटाणुले लाग्ने सङ्क्रामक रोग हो। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा भर्ना भएका सात जना हैजाका बिरामी डिस्चार्ज भइसकेको जानकारी दिए। झाडापखाला लागेका पाँच जना बिरामी अस्पतालमा भर्ना भएको उनले बताए। 

झाडापखाला लागेका बिरामी दैनिक पाँचदेखि १० जना अस्पताल आउने गरेको जानकारी दिए।