काठमाडौं–भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार बुधबार राति दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले निर्माण गरिरहेको नालामा कुनै किसिमको ब्यारिकेडिङ नहुँदा एक महिला र साढे दुई वर्षकी छोरीको मृत्यु भएको हो ।
दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै सबै विद्यालयहरू बन्द गरिएको छ । भारी वर्षाका कारण दिल्लीका धेरै ठाउँ जलमग्न भएका छन् ।
यसअघि दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी जमेर लोकसेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो । यही विषयलाई लिएर विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।