काठमाडौं–केरलाको वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । दैनिक भास्करका अनुसार १३० जना घाइते छन् ।
विपद्मा २४० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । सोमबार राति मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको थियो ।
४ वटा गाउँका पुल, सडक र सवारी साधन पनि बगेका थिए । सेना, वायुसेना, एनडीआरएफ र एसडीआरएफको टोलीले हजारौं मानिसको उद्धार गरेका छन् । तीन हजार मानिस राहत शिविरमा छन् ।
आज राहुल गान्धी र प्रियंका वायनाड पुग्नेछन्। गृहमन्त्री अमित शाहले संसदमा केरला सरकारलाई २३–२४ जुलाईमा नै अलर्ट गरिएको भनेका छन् । राज्य सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने उनको भनाई छ ।
शाहलाई जवाफ फर्काउँदै पिनाराई विजयनले यो समय एकअर्कालाई दोष दिने समय नभएको भनेको छन् । जुलाई २९ कादिन दिउँसो १ बजे मात्र वायनाड जिल्लाका लागि ओरेन्ज अलर्ट जारी गरिएको उनको भनाई छ ।