काठमाडौं– भारत, केरलाको वायनाडमा भारी वर्षाका कारण अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । घाइते ११६ जनाको उपचार भइरहेको छ । भारतीय अधिकारीहरूका अनुसार २२० भन्दा बढी व्यक्ति बेपत्ता छन् ।  

उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रातिको समयमा उद्धार रोकिएको थियो । बिहानैदेखि फेरि सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

उद्धारमा वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो । तर वर्षाका कारण उनीहरू कोझिकोड फर्किनुपरेको थियो । लगातारको वर्षाका कारण कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीले आफ्नो वायनाड भ्रमण रद्द गरेका छन् ।

उनीहरु त्यहाँ पीडितलाई भेट्न जान लागेका थिए । भारतको मौसम विभागले वायनाडसहित अन्य जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।

राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ । केरलाका १२ जिल्लाका विद्यालय र कलेजमा विदा दिइएको छ । केरला विश्वविद्यालयले आज र भोलिका लागि तय भएका सबै परीक्षा स्थगित गरेको छ ।