मुगु- मुगुस्थित नेपाल(चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका वेला बन्द उक्त नाका यही साउन १७ गतेदेखि साउन ३१ गतेसम्म खुला रहनेछ। प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका २ साताका लागि खुला गरिने बताए। 

चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए। नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ केसीको भनाइ थियो। 

OM Sai Pathibhara Hospital

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन्। अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबीच सहमति भएको हो। 

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता,  चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको छ। नेपालतर्फ सडक सुविधा छैन। स्थानीय र व्यापारीले घोडा, खच्चर र चौँरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन्।

मुगुम कार्मारोङ गाउँपालिका(१ का वडाध्यक्ष च्यावा लामा सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउँछन्।  सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमी सडक निर्माण अघि बढेको छ। हालसम्म १७ किमी सडकको ट्र्याक खोलिसकिएको छ। 

नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो।