काठमाडौं–इथियोपियाको गोफाको पहाडी क्षेत्रमा परेको भारी वर्षापछि दुईवटा पहिरो खसेका छन् । दक्षिणी इथियोपियामा दुईवटा पहिरोमा परी मारिएका २२९ जनाको शव अहिलेसम्म निकालेको स्थानीय अधिकारीले बीबीसीलाई बताए ।

गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेका अनुसार मृतकहरूमा वयस्क र बालबालिका दुवै छन् । घाइते १० जनाको अस्पतालमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताए । सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धार कार्यमा जुटेका बेला दोस्रो पटक पहिरो खसेपछि उनीहरु पनि माटोमुनि पुरिएका हुन् । 

गोफा प्रकोप व्यवस्थापनका प्रमुख मार्कोस मोलासेले पनि अहिलेसम्म २२९ शव निकालिएको बताए । स्थानीय प्रशासनले घाइतेको खोजी कार्य तीव्र गतिमा भइरहेको तर मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।

फुटेजमा सयौं मानिस घटनास्थलमा जम्मा भई तल फसेका मानिसको खोजीमा सक्रिय रहेको देख्न सकिन्छ ।  गोफा दक्षिणी इथियोपिया राज्यको हिस्सा हो ।