काठमाडौं–चितवनस्थित सिमलतालमा सोनार क्यामेरासहित बेपत्ता बसको खोजीमा जुटेको भारतीय प्राविधिक टोलीलाई पनि त्रिशूलीको उर्लंदो भेल चुनौती बनेको छ । लेदोसहितको पहिरोमा परी असार २८ देखि नै हराइरहेका दुई बस र यात्रुको खोजीमा भारतीय टोलीले आइतबारदेखि काम थालेको हो । यतिबेला त्रिशूलीको पानी धमिलो त छ नै, वेग पनि तीव्र छ ।

टोलीले साढे तीन किलोमिटर तल घुमाउनेसम्म आएर त्रिशूली नदीको उद्धार कार्य रोक्यो अनि देवघाटस्थित नारायणी नदीमा खोजी सुरु गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले घटनास्थलदेखि घुमाउनेसम्म त्रिशूली नदीमा र देवघाटदेखि काब्रेघाटसम्म नारायणीमा गरी झन्डै १४ किमि क्षेत्रमा खोजतलास गरेको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

टोलीले घुमाउनेदेखि देवघाटसम्म त्रिशूलीको १६ किमि क्षेत्रमा सोमबार खोजी गर्ने भएको छ । पानीको वेग धेरै भएका कारण भारतीय टोली त्रिशूलीमा थप खोजतलास गर्न तम्सेन । टोलीमा रहेका एक भारतीय प्राविधिकका अनुसार शनिबार साँझसम्म त्रिशूलीको बहाव सामान्य थियो । तर राति परेको वर्षाले आइतबार बिहानैदेखि नदीको धार तीव्र बन्यो । जसका कारण मोटरबोट र त्यसमा राखिएको सोनार क्यामेराको तालमेल मिलाएर काम गर्न हम्मेहम्मे परेको थियो । त्यसैले टोली धार कम भएको क्षेत्रमा खोजी गर्न देवघाट लागेको हो ।

भारतीय प्राविधिकले नदीको तीव्र धारमा सोनार राखे क्षति पुग्ने अवस्था आउने बताए । त्यसैले टोलीले त्रिशूलीको धार कम हुने प्रतीक्षा गर्दै जहाँ धार कम छ, त्यहाँ खोजी गरेको हो । शनिबार आइपुगेका भारतीय प्राविधिकले तीन वटा सोनार क्यामेरा ल्याएका छन् । त्यसैगरी टोलीमा नदीभित्र गएर खोज्न सक्ने तालिम प्राप्त चार गोताखोरसहित १२ जना छन् । कान्तिपुर दैनिकबाट