काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले १७ जना नेपाली विद्यार्थी आज बङ्गलादेशबाट आज काठमाडौं फर्कने जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उता, जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा थप बढ्दै जान थालेको छ । कर्फ्यूका बाबजुद पनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा दुई प्रहरी पनि छन् । ढाकाको जात्राबारीको रायबागमा ८ जनाको मृत्यु भयो भने मिरपुर र अजिमपुरमा २ जनाको मृत्यु भएको छ ।

मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ । सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यू घोषणा गरेको थियो । देशभर सेना परिचालन गरेर कर्फ्यू आइतबारसम्म लम्ब्याइएको छ ।