न्युयोर्क- संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरस्थित क्वीन्स वृज पार्कमा भव्यरुपमा सिःसेक्पा तङ्नाम (साउने सक्रान्ती) पर्व मनाइएको छ। 

गत आइतबार किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिःसेक्पा तङनाम भव्य समारोहकाबिच मनाइएको हो। पर्वको अवसरमा दुई खण्डमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। अमेरिकाको न्युजर्सी राज्यस्थित मोन्टेक्लेयर युनिभर्सिटिका प्राध्यापक यामबहादुर लिम्बुको प्रमुख आतिथ्यता सम्पन्न पहिलो खण्डको कार्यक्रममा याक्थुङ समुदायमा जन्म लिएर आफ्नो समुदाय प्रति विशिष्ट कर्म, त्याग, तपस्या, बलिदान र योगदान दिने राष्ट्रिय विभूतिहरुको तस्बिरमा माल्यार्पण गरिएको थियो। 

OM Sai Pathibhara Hospital

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी अधिकृतद्वोय मिक्साम कुरुम्बाङ र सन्जिव ईजम लेनिन, विद्यार्थीहरु नामहाङ चेम्जोङ, प्रणवी लिम्बु थेबे, लासाङ चोङ्बाङ्क्याक, जोसन लाबुङ र साजन लाबुङलाई थप शैक्षिक प्रगतिको शुभकानासहित प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

सोही अवसरमा कियाचु अमेरिकालाई लामो समय देखि संस्कार संस्कृति विभाग अन्तर्गत सहयोग पुर्‍याउने शुसिला शेर्मा, नविना मादेन, सावी लिङ्देन, मौसम इङ्नाम, निर्मला कन्दङ्वा हुक्पाचोङ्बाङ लगायतलाई संस्थाको वृत्ति विकासका लागि पुर्‍याएको योगदानको कदर स्वरुप कियाचु संस्कार संस्कृति विभाग प्रमुख कुवेर वनेम लगायतले सम्मानपत्र प्रदान गरि अभिनन्दन गरेका थिए। 

कार्यक्रमको दोस्रो खण्डमा याक्थुङ लिम्बु विभूतिहरुको चित्रकलामा सहभागी भएका बालबलिकाहरुलाई संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देनले प्रमाण पत्र वितरण गरे। 


साथै बाललिकाहरुको सहभागितामा पूनस् केलाङ र यालाङ प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं कियाचु अमेरिकाका पूर्वसल्लाहकार लीला सिंघकको अगुवाईमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) समेत प्रस्तुत गरिएको थियो। 


कार्यक्रममा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मन्याङबो, फिप्ना अमेरिकाका अध्यक्ष तोरण गुरुङ लगायतको उपस्थिति रहेको थियो । साथै अमेरिकामा रहेका विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुको समेत सिसेक्पा तङ्नाममा सहभागिता रहेको थयो।