काठमाडौं – बंगलादेशमा स्वतन्त्रता सेनानीका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिने विरोधमा हिंसात्मक प्रदर्शन जारी छ । सयौं कैदीलाई रिहा गरेर प्रदर्शनकारीले जेलमा आगजनी गरेका छन् ।

यसअघि बिहीबार उनीहरुले सरकारी टेलिभिजन च्यानल बीटिभीको मुख्यालयमा आगजनी गरेका थिए । हिंसात्मक प्रदर्शनमा हालसम्म ६४ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा बढी घाइते भएका छन् । बंगलादेशमा स्वतन्त्रता सेनानीका सन्तानले सरकारी जागिरमा ३० प्रतिशत आरक्षण पाउँछन् ।

OM Sai Pathibhara Hospital


किन भयो विवाद ?

सन् २०१८ मा बंगलादेशमा सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण दिदैँ आइएको थियो । स्वतन्त्रता सेनानीका बालबालिकालाई ३० प्रतिशत, पिछडिएका जिल्लालाई १० प्रतिशत, महिलालाई १० प्रतिशत रोजगारी दिइएको छ । अल्पसंख्यकका लागि ५ प्रतिशत र अपाङ्गता भएका विद्यार्थीका लागि १ प्रतिशत कोटा राखिएको थियो ।

२०१८ मा, विद्यार्थीहरूले आरक्षणको विरुद्धमा प्रदर्शन गरेका थिए । त्यसपछि सरकारले पूरै ५६ प्रतिशत आरक्षण हटायो । तर केही दिनअघि सर्वोच्च अदालतले सरकारलाई पहिले जस्तै आरक्षण दिन निर्देशन दियो । यो निर्णयको विरोधमा विद्यार्थीहरु फेरी सडकमा उत्रिएका हुन्। ५६ प्रतिशत रोजगारीमध्ये ३० प्रतिशत स्वतन्त्रता सेनानीका छोराछोरीले पाउने जागिर खारेज गर्नुपर्ने माग विद्यार्थीको छ ।