काठमाडौं— अमेरिकी साइबर सुरक्षा कम्पनी  क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइन पैसा तिर्ने गेटवेसम्ममा त्यसको असर परेको छ।  

OM Sai Pathibhara Hospital

अमेरिकास्थित  क्राउडस्ट्राइकबाट उक्त समस्या उत्पन्न भएको बीबीसीले जनाएको छ । 

माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरलगायत उपकरणको स्क्रिन निलो देखिएको छ। कतिपय अवस्थामा थुप्रै पटक प्रणाली बन्द गरेर पुनः सञ्चालन गर्दा सुधार भएको जनाइएको छ। 

अमेरिका, बेलायत, जर्मनीलगायत भारतको केही क्षेत्रमा समेत सूचना प्रविधि वेबसाइटमा समस्या भई प्रविधिमा आधारित विमान सेवा, बैङ्क, अस्पतालको काममा असर परेको छ। विश्वव्यापी रूपमा विन्डोज अपरेटिङ सिस्टममा आधारित भएर काम गर्ने कम्पनीको काममा असर परेको हो। 

माइक्रोसफ्टले भने यसमा आफ्नो त्रुटि नभएको बताउँदै तेस्रो पक्षको समस्या रहेको प्रस्टीकरण दिएको छ। एप्पल र लिनक्सका प्रयोगकर्तामा भने यसको असर देखिएको छैन। 

सञ्चार माध्यम एनबीसीसँगको अन्तर्वार्तामा  क्राउडस्ट्राइकका साइबर सुरक्षा प्रमुख जर्ज कट्जले भने, 'माइक्रोसफ्ट अपरेटिङ सिस्टमलाई हिट गर्ने आफ्नो अपडेटमा बगका कारण समस्या भएको हो।' 

उनले समस्याको पहिचान भइसकेको र छिटै पुरानै अवस्थामा फर्किने दाबी गरेका छन्।