काठमाडौँ-  यस वर्षको मनसुन सुरु भएयता नेपालमा विपद्का घटनामा परी ७४ जनाको मृत्यु भएको छ । ८८ जना घाइते छन् ।

अविरल वर्षाका कारण २०८१ जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार विपद्‌मा परी काठमाडौं उपत्यकामा एकजना, कोसी प्रदेशमा १८, मधेसमा तीन, वाग्मतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

विपद्का घटनाबाट देशभर ८८ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा तीनजना, कोसी प्रदेशमा २१, मधेसमा पाँच, वाग्मती  चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा १० जना घाइते भएको प्रहरीले जनाएको छ । 

यस अवधिमा ५३ जनाको उद्धार गरिएको छ । कोसी प्रदेशमा ४१ र गण्डकीमा १२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै, बाढीपहिरो जस्ता विपद्का घटनाबाट पाँचजना बेपत्ता छन् । बेपत्ता हुनेमा कोसी प्रदेशमा दुई, वाग्मतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार २९६ घर परिवार विस्थापित भएका छन् ।