मोरङ— गोविने खोलाले विद्यालय जाँदै गरेका एक बालकलाई बगाएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको खोलाले बगाएर मृत्यु भएको हो । 

वडाध्यक्ष शिवप्रसाद तामाङकाअनुसार श्यामलाई बिहान ९ बजेतिर खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पु¥याएको अवस्थामा ९ः५० बजेतिर शव फेला परेको थियो ।

OM Sai Pathibhara Hospital

वडाध्यक्ष तामाङका अनुसार बालकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ । 

मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

विद्यालयका प्रधानाध्यापक सुजन थेवेका अनुसार याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ आइपुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्छ । २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जनाजति बालबालिका अध्ययनका लागि आउने गरेको जानकारी थेवेले दिए । 

थेवेका अनुसार याङ्शीला र चिउरी भञ्ज्याङ आसपासमा सोमबार रातिदेखि भीषण वर्षा भइरहेको थियो । खोला तर्ने क्रममा वर्षासँगै आएको बाढीले बगाएर बालकको मृत्यु भएको उनले बताए । 

बालकको मृत्यु भएपछि सिंगो गाउँ र विद्यालय शोकमा डुबेको छ।