काठमाडौँ-  'लिटल बुद्ध' उपनामले परिचित रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन्। सर्लाही जिल्ला अदालतले उनलाई सोमबार दोषी ठहर्ने फैसला गरेको हो। उनी तपस्वी र दोस्रो बुद्ध समेत मानिन्थे। 

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गते पेसी तोकेको छ।

OM Sai Pathibhara Hospital

यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने सफाइ पाएका छन्।

यी दुई जनामाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो। बम्जनमाथि धेरैजना महिलाले जर्वजस्ती करणीको आरोप लाएका थिए। 

उनकै महिला तपस्वीमाथि बलात्कार मुद्दा लागेको थियो। उनलाई तपस्याका क्रमकै बलात्कार गरेको आरोप लागेको थियो। प्रहरीमा बम्जनमाथि मुद्दा दायर भएपछि उनी फरार थिए। प्रहरीले लामो समय खोजेर उनलाई काठमाडौँको एक घरबाट पक्राउ गरेको थियो। त्यसपछि उनलाई सर्लाही लगिएको थियो। उनी यसअघि नै थुनामा छन्। 

यस्ता छन् आरोप

बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो। 

प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ। उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।

महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन्। 

त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो। जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ । तर, प्रहरीले प्रमाण फेला पार्न सकेन ।