काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारीले बंगलादेशको ५ वटै विकेट झारेका थिए । बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे । त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।

OM Sai Pathibhara Hospital

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।

त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।