काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै एक अभिव्यक्ति दिएका छन । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको भन्दै कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन । 

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। तर सिटौला विजयी हुँदा कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् । उक्त घट्नालाई लिएर पुन मात्र होइन सिंगो माओवादी केन्द्रभित्र हलचल आएको छ । पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे । यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनको भनाइ थियो । पुनको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु अगावै सत्तारुढ गठबन्धनले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै मत क्रस गर्नेलाई कारवाहीको चेतावनी नै दिइसकेका छन् । आधिकारिक उमेदवारलाई मत नहाल्ने जनप्रतिनिधिको विषयमा छानबिन गरी अनुशासनको कारबाही गर्ने गठबन्धनले चेतावनी दिएको छ । ‘गठबन्धनको निर्णयविपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ट जनप्रतिनिधिहरुको सम्बन्धमा यथाशीघ्र छानबिन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

OM Sai Pathibhara Hospital

गठबन्धन दल नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्वो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई र जसपा कोसी प्रदेश संसदीय दलका नेता निर्मला लिम्बूले विज्ञप्ति प्रकाशित गरेका हुन् ।जसका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तुरुन्त भेटवार्ता गरेर आगामी दिनका विषयमा छलफल गर्न नेताहरुले प्रचण्डलाई दबाब बढाएका छन् । कांग्रेससँगको सत्ता यात्राको पनि समीक्षा गर्नुपर्ने अवस्थामा नेताहरु पुगेका छन् । कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेससँगको सत्ता सहयात्रा पुनर्विचार गर्नुपर्ने ठाउँमा पुगेको प्रतिक्रिया दिइसकेका छन् । उनले कांग्रेसको डा.शेखर कोइराला समूहले धोका दिएको बताएका छन् । राष्ट्रिय सभा अध्यक्षका रुपमा हेरिएका कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणले असर गर्नसक्ने अनुमान शुरु पनि भइसकेको छ । कोशी प्रकरणपछि माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पद आफैंसँग राख्न दबाब बढाएका छन् ।

यदी सत्ता हस्तान्तरण गरेको खण्डमा संवैधानिक पदमा माओवादी एकजना पनि नहुने भएपछि राष्ट्रियसभा अध्यक्ष आफैंसँग राख्न अध्यक्ष दाहाल दबाबमा छन् । कांग्रेसको कारण कोशीमा यसअघि माओवादी केन्द्रले सभामुख र मुख्यमन्त्री पद गुमाउनुपरेको हिसाबकिताब गरेको छ । किनकी ५९ सीट रहेको राष्ट्रियसभामा अध्यक्षका लागि ३० मत चाहिन्छ । राष्ट्रियसभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७, कांग्रेसको १६, एमालेको १०, नेकपा एसको ८, जसपाको ३, लोसपा र जनमोर्चा तथा स्वतन्त्रको एकएक जना छन् । जसमा माओवादी, नेकपा एस, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्ने भएकाले माओवादीलाई अध्यक्ष बन्न सहज हुने हिसाब माओवादी नेताहरुको छ । तर माओवादी नेताहरुले गरेको हिसाबकिताब जस्तो समीकरण नै फेरबदल हुनसक्ने अवस्था छैन् । कांग्रेस पहिलो र बलियो शक्ति भएकाले गठबन्धनमा रहेका दलहरुले माओवादीलाई मात्र साथ दिएर अघि बढ्छन भन्ने अनुमान गलत हुनेछ ।

कोशीमा गठबन्धनका तीन सांसदले एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । कोशी प्रदेशमा १३७ स्थानीय तहका प्रमुखरउपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए । आउँदो फागुन २० गतेदेखि २० राष्ट्रियसभा सदस्यको पदावधी सकिदैछ । राष्ट्रपतिबाट एक जना मनोनित हुनेछन् १९ जना निर्वाचित भइसकेका छन् ।