काठमाडौं ।  बहुप्रतीक्षित नेपाली चलचित्र ’झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले गाउँघरको परिवेश, पारिवारिक सम्बन्ध, प्रेम, हास्य र भावनात्मक द्वन्द्वलाई प्रस्तुत गर्दै फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ।

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो चलचित्र सफल फिल्म ’झिँगेदाउ’ को सिक्वेल हो। टिजरमा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठीलगायतका कलाकार फरक शैली र भूमिकामा देखिएका छन्।

निर्माण टिमका अनुसार टिजर सार्वजनिकसँगै अब गीत, ट्रेलर र अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गरिनेछ। चलचित्र आगामी असोज २ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।

तीन वर्षअघि प्रदर्शनमा आएको ’झिँगेदाउ’ ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। त्यसैले यसको दोस्रो श्रृंखलाबाट पनि निर्माताले ठूलो अपेक्षा राखेका छन्।