बिर्तामोड  ।   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (आज) झापाबाट संवाद यात्रा सुरु गर्दै छन् । महामन्त्री थापाले शनिबार विहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्दैछन।

समुदायमा कांग्रेस अभियान अन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले बताएको छ । महामन्त्री थापाले शनिबार(आज) विहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन् ।

OM Sai Pathibhara Hospital


पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने,  भाषणका कार्यक्रम नगर्ने तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् ।

महामन्त्री थापा शनिबार विहान ९.३० देखि १० बजेसम्म झापा चाकमा चिया संवाद गर्नेछन् । थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग सम्वाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ । 

थापाले बुधबार विहान १० बजे कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२.३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, कन्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।