काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ । 

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालका अनुसार शुक्रबार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको थियो । 

OM Sai Pathibhara Hospital

अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रवार बिहान करिब १२ बजेको समयमा प्रस्थान कक्ष तर्फको ड्युटी सकाई एयरपोर्टको डी क्षेत्रको बाटो हुँदै आगमन कक्षतर्फ जाँदै गर्दा चेकजाँच गर्ने स्थानमा खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र असई सञ्जय तामाङ लगायतका करिब ४-५ जना प्रहरी कर्मचारीहरूले लछारपछार गरी निर्घात कुटपिट गरेको कार्यालयले जनाएको छ । कुटपिटका कारण उनको शरीरमा चोटपटक/नीलडाम समेत लागेको छ । 

कार्यालय प्रमुख गोगन बहादुर हमाल र प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल समेतको उपस्थितिमा सिसिटिभी हेर्ने भनी सिसिटिभी मोनिटरिङ कक्षमा जाँदा प्र.ना.उ. पोखरेल, अ.स.ई. तामाङ, प्रहरी निरीक्षक मधुसूदन वि.क., दर्जा नखुलेका प्रहरी कर्मचारी प्रकाश चौधरी समेतले सिसिटिभी मोनिटरिङ गर्ने कक्षमा ढोका थुनी प्रमुख अध्यागमन अधिकृत तथा अन्य अध्यागमनका कर्मचारी माथि पुनः कुटपिट गरेको कार्यालयले जनाएको छ । 

सुरक्षा प्रदान गर्ने जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरूबाट गैर कानुनी कार्य भएको भन्दै कार्यालयले छानबिन गरी दोषी उपर हदैसम्मको कारबाही माग गर्दै पत्र नै लेखेर मन्त्रालय र विभागलाई जानकारी गराएको हो ।

भिजिट भिसाको विषयलाई लिएर पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारी बिच दूरी बढ्दै गएको देखिन्छ ।