काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय भुक्तानी ‘पेमेन्ट गेट वे’ प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा अख्तियारले सुनील र विकललाई पक्राउ गरेको हो । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि विकल र सुनीललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

OM Sai Pathibhara Hospital

अख्तियारले २०८० असोज १५ मा सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो ।त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।

मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको कार्यालयको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आरोपमा उनीहरु थप छानबिनमा तानिएका थिए । त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरी अख्तियारको हिरासत राखिएको छ ।