बिरगन्ज । भारतीय बजारमा मेडिकल ब्यवसाय गर्दै आएका एक नेपालीको शनिवार रहस्यमय मृत्यु भएको छ।

भारतको अररिया जिल्लास्थित बथनाहाको वीरपुर चोकमा अस्पताल सञ्चालन गर्दै आएका विराटनगर–१० तीनटोलिया शान्तिचोकका रविनकुमार रायको मृत्यु भएको हो। त्यहाँ उनको ‘विराट दिव्य दृष्टि जनरल हस्पिटल’ सञ्चालनमा छ। जनस्वास्थ्यमा स्नातक गरेका उनी फर्मासिस्ट हुन।

OM Sai Pathibhara Hospital

रायको परिवारले उनको हत्या भएको र हत्यामा व्यापारिक साझेदार नै संलग्न भएको आरोप लगाएको छ। अस्पतालकी मुख्य सञ्चालक तथा रायकी पत्नि रानीकुमारीले साझेदारले नै आफनो पतिको हत्या गरेको आरोप लगाईन।

अस्पतालमा विराटनगरकै इमरान शेख भन्ने व्यक्ति पनि साझेदार छन्। रविनले १८ लाख रुपैयाँ फिर्ता गरेर अस्पताल एकल रुपमा सञ्चालन गर्ने बताएका थिए। सोही क्रममा सञ्चालकहरुकाबीचमा विवाद पनि भएको थियो।

फिर्ता गर्ने रकम नभएपछि रविनले विराटनगरकै खगेन्द्र थापासँग महँगो दरमा मिटरब्याजमा पैसा लिएको र घटना भएको दिन शनिबार खेम थापासहित १० जना एउटा स्कार्पियोमा अस्पताल गएको रानीले बताई।

छलफल गर्ने भन्दै उनीहरु अस्पताल भवनको चौथो तलामा गए र तेस्रो तलाको गेटमा चुकुल लगाए। शंका लागेर आफुले प्रहरीलाई खवर गरेपनि प्रहरी पुग्नु अगाडि नै उनीहरुले रविनलाई कुटपिट गर्दै चौथो तलाबाट धकेलेर तल झारिदिएको रानीको भनाई छ।

उनकाअनुसार घटना शनिबार साँझ ५ बजेको हो। घट्नापछि आइतबार नै भारतको अररिया जिल्लाअन्तर्गतको बथनाहा प्रहरी पोस्टमा किटानी जाहेरी दिएको उनले बताइन।

रविनले केही समय विराटनगरकै अस्पताल चोकमा आस्था फार्मेसी चलाएर डा. उत्तर मैनालीको सम्पर्क केन्द्र बनाएका थिए। डा. मैनाली थप अध्ययनका लागि बाहिर गएपछि भने उनको क्लिनिक चल्न कम भयो। त्यसपछि उनी भारत छिरेका थिए।