काठमाडौँ । भारतीय कम्पनीको १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा बाराका छुट्टाछुट्टै दुई स्थानबाट सो परिमाणको पोटास खाद बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

किसान ट्रेडर्स नामको भारतीय कम्पनीको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर तथा बिर्तामोडतर्फ लगिँदै गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । 

OM Sai Pathibhara Hospital

सोही सूचना पछ्याउने क्रममा प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा र इलाका प्रहरी कार्यालय निजगढले पथलैया चोकबाट थप ८ वटा ट्रक नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका १३ वटा ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको र त्यसको कर सम्बन्धी विवरण शंकास्पद रहेको न्यौपानेले बताए। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।