काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदले मुलुकका २१ वटा आयोजनाहरुमा पैदलयात्रा गर्ने भएका छन् । यो घोषणा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा सभापति रवी लामिछानेले गरेका हुन् ।  
पार्टीको एक वर्षको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा उनले २१ जना सांसदको भागमा एउटा–एउटा आयोजना दिइने र ती अधुरो हुनुको कारण खोजेर सरकारलाई समाधान पत्र सरकारलाई बुझाउने बताएका छन । 
लामो समयदेखि नबनेका आयोजनाहरुको एउटा होइन्, २१ वटा आयोजनाहरुमा पैदलयात्रा सुरुवात गर्ने  र २१ जना सांसदको भागमा एउटा–एउटा आयोजना दिएर दबाब यात्रा गरेर समाधानसहित समाधानपत्र सरकारलाई दिएर त्यो नबनेसम्म खबरदारी गर्ने उनले बताए । 
देशमा एउटा बाटो बन्न एउटा पुस्ताले कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सबैको साथ हुने हो भने सदनलाई जनताको सदन बनाउने रबिले बताए ।  
रास्वपा गठनदेखि नै प्रदेश सभा सम्बन्धी व्यवस्थाबारे विमति राख्दै आएका लामिछानेले शनिबार पनि त्यसबारे भन्न छुटाएनन् । प्रदेश सभा मुलुकलाई चुस्ने र दलका भाग नपाएकाहरुलाई भाग दिने ठाउँ भएको भन्दै उनले प्रदेशको यो संरचना व्यवस्थाको लागि सबैभन्दा बढी चुनौती भएको आरोप लगाए ।  प्रदेश सभा नेपाललाई चुस्ने र दलका भाग नपाएकाहरुलाई भाग दिने ठाउँ कसले बनायो उनीहरुलाई हाम्रो प्रश्न हो । त्यसकारण प्रदेशप्रति गम्भीर रुपमा सोच्नैपर्ने अवस्था सिर्जना भएको छ । प्रदेशको यो संरचना र यही तरिकाको कानुन नबन्ने हो भने व्यवस्थाको लागि यो सबैभन्दा बढी चुनौती हुन्छ । हाम्रो मिसन चौरासी भनेको योग्य मानिसलाई खोज्ने र योग्यता अनुसारको काम दिने नै हो भन्दै  मिसन ८४ आफूहरुको मात्रै नभएर सुशासन चाहने सबैको भएको उनले बताए । नेपाली राजनीतिमा टिकिरहन सुधारका कामहरु गरेर अगाडि बढ्नुपर्नेमा नेताहरुमा त्यस्तो नदेखिएको उनले कटाक्ष गरे । ‘अहिलेका पुराना दलहरु शासन सत्ता हामी हो, हामी जुटिहाल्छांै, केही भएन भने झेली गरेर गठबन्धन गरेर पनि जितिहाल्छौं भन्छन्,’ उनले भने, ‘त्यो आत्मविश्वास भएर होला, राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको मान्छेलाई लिएर जानु प¥यो, यो व्यवस्थामा त्यति खतरा कोबाट छ । कसले यो व्यवस्थालाई खतरा गर्यो, परिवर्तनमाथि प्रहार कसले गर्यो, जसले अनुसन्धान हुँदाहँुदैको फाइल बन्द गर्यो, त्यसैले ग¥यो ।’ 
भ्रष्टाचार, ठगी, अन्याय, देशमा मात्रै नभइ नेपालीले विदेशमा पनि भोग्नुपरेको उनले बताए । ‘ठगीमा पर्नु पनि सामान्य कुरा बनाएर समाजले हरेक अपराध र बेथितिलाई सामान्यीकरण गर्दै यसैमा बाँच्ने बानी पारिरहेको समयमा हामी घन्टी बजाउँदै निस्किएका हौं,’ उनले भने, ‘राजनीतिमा कुन हदसम्म गिरेर, अरुलाई गिराउने काम हुन्छ भन्ने कुरा हामीलाई थाहा भएको हुनाले पनि हामी डराएका छैनौं ।’ 
निरन्तर प्रहार भइरहे पनि नडराउने उद्घोष उनको थियो । ‘हामीलाई हार्ने छुट छैन, हामीमाथि जस्तो किसिमको टिकाटिप्पणीको आक्रमण भइरहेको छ, त्यसबाट हामी हार मान्नेवाला छैनौं,’ उनले भने, ‘हामीलाई राजनीति आउदैन भन्ने गरेको छ । त्यो हो, हामीलाई आउँदैन र यो राजनीति तपाईहरुसँगै सकियोस् कामना छ ।’