काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलले पर्साबाट १ सय ६८ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ गरेको छ।  सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट उक्त गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन्। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।

OM Sai Pathibhara Hospital

वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा करिब १ सय ६८ किलो लागुऔषध गाँजासहित तामाङ र लामालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

थापाका अनुसार उनीहरूबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल समेत बरामद भएको छ।