काठमाडौँ । नेकपा एमालेले राजधानी केन्द्रित आन्दोलनको गृहकार्य अघि बढाएको छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको जनसङ्गठन समन्वय समितिको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीपनाले सीमा नाघेको कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको बताए । संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरकमाथि सरकारको ज्यादतीले सीमा नाघेको तथ्य प्रस्तुत गर्दै आन्दोलनको तयारीमा पार्टी रहेको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

महासचिव पोखरेलले राजधानीमा मध्यम वर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्यादती भए पनि ठोस ढङ्गले प्रतिकार हुन नसकेको भन्दै अव त्यस दिशातर्फ पनि अघि बढ्नुपर्ने बताए ।महासचिव पोखरेलले नेपालको आन्तरिक मामिलामा सरकारले खेलवाड गरेको भन्दै यस विषयमा जनतालाई जानकारी गराउनु पर्ने धारणा पनि राखेका छन् ।

उनले ललितपुरको ग्वार्को र सर्लाहीको बरथहवा घटनाले सरकार जनतामाथि निर्मम रूपमा दमनमा उत्रिएको प्रमाण दिएको भन्दै यस प्रकारका ज्यादती अब सैह्य नहुने प्रष्ट पारे । सर्लाहीमा सत्ता गठबन्धनले नै अराजकता मच्चाउने काम गरेको र सरकारले निर्दोष नागरिकमाथि गोली चलाएर हत्या गरेको भन्दै महासचिव पोखरेलले यी दुवै घटनामा प्रतिवाद जरुरी रहेको बताए ।

बैठकमा महासचिव पोखरेलले पार्टीले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राले अतिवादलाई पराजित गरेको निष्कर्ष सुनाए ।