काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् ।नेपाली काँग्रेसका पूर्व महामन्त्री सिटौला भोलि(सोमबार) राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदै छन् ।  

राष्ट्रपति बनाउने भनेर दिएको आश्वासन पूरा नगरेका दाहाल र देउवासँग सशंकित सिटौलाले पटक पटक उनीहरूसँग वाचा दोहोर्‍याउन लगाएर मात्र सदस्य पदमा मनोनयन गर्न विराटनगर जान लागेको सूत्रले बतायो ।कोशी प्रदेशको सरकार गठन गर्दा सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग मागेका थिए । त्यस बेला लिङ्देन झापा क्षेत्र नम्बर ३ मा सिटौला चुनाव लड्दा आफूलाई असजिलो भएको कुरा सुनाउँदा देउवाले भनेका थिए, ‘अब सिटौला झापाबाट चुनाव लड्दैनन्, उनी राष्ट्रिय सभामा जान्छन्, ढुक्कसँग सहयोग गरे हुन्छ’ भनेर आश्वासन दिएका थिए ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रियादेखि संविधान घोषणा गर्दासम्म निरन्तर सहयोग गरेकाले पनि सिटौलालाई यस पटक राष्ट्रिय सभाको नेतृत्वमा पुर्‍याउन आफू वचनबद्ध रहेको निकटस्थहरूसँग बताएका छन् । यता सभापति देउवाले आफू निकट नेताहरू पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने तयारी गरिसकेका छन । 

नेपाली काँग्रेसमा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, गोविन्द पोखरेल र सुजाता कोइरालासहित पाँच सय जति नेताले राष्ट्रिय सभा सदस्य बन्ने आकांक्षा सभापति देउवासँग राखिसकेका छन् । देउवा निवासमा नेता शेखर कोइराला, पूर्णबहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक आकांक्षीहरु मध्येबाट नाम छनौट गर्न सक्रिय भएको थाहा भएको छ ।