एजेन्शी  ।  विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ।

भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।

OM Sai Pathibhara Hospital

गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।

त्यसैगरी, गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसद्भित्र सुरक्षा उल्लङ्घनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।

सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लङ्घनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए ।निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो ।

कंग्रेस सभापति मल्लिकार्जुन खड्गेले विपक्षीरहित संसद्मा सरकारले विचाराधीन महत्त्वपूर्ण विधेयकलाई बिना कुनै बहस र असन्तुष्टि मनोमानी ढंगले पारित गर्ने आरोप लगाए । 

उनले सांसदहरूलाई निलम्बित गराएर मोदी सरकारले तानाशाही प्रवृत्ति देखाएको बताए ।