काठमाण्डौ   ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन।

पक्राउ परेका कुर्मी हाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए । वडाबाट जन्म दर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको  प्रहरी नायब उपरीक्षक पाण्डेले बताए

राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्म दर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकता सम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।