काठमाडौँ / सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङ रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई व्यक्तिलाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ । गत असार ३० गते चोरी भएको पेस्तोलसहित सुरुमा मेघबहादुरलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामी पक्राउ परेका थिए । 

OM Sai Pathibhara Hospital

घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अङ्कुसे लगाएर चोरी भएको थियो । त्यसलगत्तै खड्काले पेस्तोल चोरी भएको भनी प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । सोही आधारमा खोजतलासका क्रममा पेस्तोल बरामद गरी उनीहरूलाई पक्राउ गरिएको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।