बिर्तामोड / विराटनगर महानगरपालिकाका –५ का रोहित चौधरीमाथि गोली हानी हत्या गरेको आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा धरानका प्रकाश लिम्बू र विराटनगरका अज्जु भनिने अजय शर्मा रहेका छन् । उनीहरुलाई बिहीबार धरान र विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए । हत्यामा प्रयोग गरिएको बन्दुक विराटनगरका शर्माले उपलब्ध गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

सोही घटनामा यसअघि पक्राउ परेका मोरङको लेटाङ नगरपालिका–१ का दीपक तिम्सिना र धरान उपमहानगरपालिका–१४ का अनशन तामाङलाई कोसी प्रदेश प्रहरी कार्यालयले दुई दिनअघि सार्वजनिक गरेको थियो । यही साउन ५ गते धनकुटाको मूलघाटबाट विराटनगर फर्कने क्रममा पानी पिउन रोकिएका बेला चारकोसे जंगलमा चौधरीमाथि आक्रमण गरिएको थियो । सुनको सिक्री, मोबाइल र पैसा लुटेर उनीहरू भागेका थिए । चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital