काठमाडौं / दोलखामा पहिरोमा परी बेपत्ता भएका एकजना बालक मृत फेला परेको भने तीन जना अझै बेपत्ता छन् ।गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव भने फेला परेको छ । पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।