काठमाण्डौ । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चिनिने गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् ।

तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन् ।

भारत गोरखपुर बस्ने ४३ वर्षीया गीता तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित रु ५० लाख बराबरको चोरी गरेको घटनामा संलग्न रहेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए ।

वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र रु तीन लाख ८० हजार चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट रु ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका–९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइललगायत नगद रु एक लाख १५ हजार लुटेको प्रहरीको दाबी छ ।

प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगरपालिका–३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । यस्तै हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ । तिवारीका समूहका अन्य सदस्यको समेत खोजी भइरहेको उनले बताए।