सप्तरी । सवारी चालक अनुमती पत्र वितरणमा हुने लापर्वाही र चलखेलको अर्को उदाहरण सार्वजनिक भएको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ६ वर्षदेखि सप्तरी कारागारमा रहेका कैदीले कैद भुक्तान गरिरहेकै समयमा सवारी चालक अनुमती पत्र लिएको खुलासा भएको हो।

सप्तरीको खडक नगरपालिका–७ तथा साबिक कल्याणपुर गाविस–२ निवासी मोहम्मद सैयद मियाँ ०७४ वैशाख ५ गतेदेखि नै कारागारमा छन्।
सप्तरी जिल्ला अदालतको फैसला अनुसार कारागारमा रहेका उनको त्यसपछिको मितिमा सवारी चालक अनुमति पत्र वनेको पाईएको छ।
यातायात व्यवस्था कार्यालय इटहरीबाट सैयदको नाममा ०७४ असार ३० गते चालक अनुपती पत्र जारी भएको छ। उनीसँग ०२–००–११–३४ नम्वरको कार्यालयबाट वस, ट्रक, लहरी (हैवी सवारी साधन) को चलाउन पाउने सवारी चालक अनुमती पत्र छ।
उनको सवारी चालक अनुमति पत्र र नागरिक्ता दुबैको विवरण एउटै छ। चालक अनुमति पत्रमा शाखा अधिकृतको हस्ताक्षर छ, तर नाम उल्लेख गरिएको छैन।
सप्तरी जिल्ला अदालतका अनुसार मियाँमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय भएको छ ।
कारागारमा रहेका कैदीको सवारी चालक अनुमति पत्र बनेपछि कारागार प्रशासन सप्तरी र यातायात व्यवस्था कार्यालय सुनसरीमाथि गम्भीर आशंका उत्पन्न भएको छ।
यो प्रकरणले पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सावित गरेको छ।