झापा । वैशाख १ बाट पूर्वी तराईका विभिन्न ठाउँमा सिरुवा पर्व मनाइदै छ । यो पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा अर्थात् जुडशीतलका रूपमा सिरुवापर्व मनाउने गरिन्छ ।
कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लामा सिरुवा पर्व धुमधामकासाथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्छन् ।
यो पर्वमा हिलो, रङका साथै पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता दिन्छ भन्ने मान्यताका साथ यस पर्वलाई जुडशीतल पनि भन्ने गरिन्छ ।
सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिकस्थलमा मेला लाग्ने गर्छ । यस्तो मेला वैशाख महिनाभरि नै ठाउँअनुसार फरकफरक दिनमा लाग्ने गर्दछ ।
सिरुवा पर्वमा मेला लाग्ने ठाउँमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ।
जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शिरमा पानी छर्कने र बोटबिरुवामा पनि पानी हाल्ने चलन छ ।