काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी कार्यालयमा रहेको पुस्तकालय र स्रोत केन्द्रलाई आइडिया सेन्टरको संज्ञा दिएका छन् । उनले यस पुस्तकालयलाई मात्र साधारण पुस्तकालयको रूपमा होइन, अपितु एउटा आइडिया सेन्टरको रूपमा पनि प्रयोग गर्दै आएको बताए । सामाजिक सञ्जालमार्फत उनले पुस्तकालयभित्र शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विविध विषयमा संवाद, छलफल, र अन्तरक्रिया गर्ने जानकारी दिएका छन् ।
महामन्त्री थापाका अनुसार कहाँबाट आउँछन् योजना भन्ने शीर्षकबाट सुरु भएको पूर्वाधार मीमांसाको तेस्रो संस्करणमा सडकको दुखान्त शीर्षकमा आयोजित छलफलमा नेपालमा पूर्वाधार समयमा किन निर्माण हुँदैन, र बनेका पूर्वाधार किन टिकाउ रहन सक्दैनन् भन्ने विषयमा विचारविमर्श गरिएको छ । नेपाल सरकारका पूर्व सचिव इन्जिनियर अर्जुन थापाले, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना र आइ ओ इका ट्रान्सपोर्टेसन विभाग प्रमुख उप प्राध्यापक इन्जिनियर अनिल मरासिनीले सडक पूर्वाधारका विविध आयाममा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् ।
थापाले यो क्रम निरन्तर जारी रहने पनि स्पष्ट पारेका छन् । यस्ता छलफल र विश्लेषण पार्टीका पुँजी भएको भन्दै उनले यस्ता प्रक्रियाले जनप्रतिनिधि र राजनीतिक नेतृत्वलाई राज्य प्रशासन सञ्चालन गर्ने र नीति नियम बनाउने क्रममा महत्वपूर्ण जानकारी र दृष्टिकोण प्रदान गर्नेमा जोड दिएका छन् ।