काठमाडौं–नेपालले आज सम्पन्न आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्ड ४१.४ ओभरमा १५४ रनमा अलआउट भयो। स्कटल्याण्डलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। करन केसी, सोमपाल कामी, र गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए। स्कटल्याण्डका लागि मार्क वाटले मात्र ३४ रन बनाए।
स्कटल्याण्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमै पाँच विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले सर्वाधिक ५१ रन बनाए, भने कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन तथा आसिफ शेखले २१ रनको योगदान दिए। स्कटल्याण्डका बलर ब्राण्डम म्याकुलमले २ विकेट लिए भने ब्राड कुरी, मार्क वाट, र ज्याक जार्विसले एक/एक विकेट लिए।
यस शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो, भने स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराउँदै राम्रो शुरुवात गरेको थियो।