मधेश । सप्तरीमा प्रहरीले गोली चलाएर तस्करी हुँदै गरेको १८४ किलो गाँजा नियन्त्रण गरेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे प्रहरीले उक्त गाँजा नियन्त्रण गरेको हो ।
घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए ।
गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरुले खोस्न खोजेपछि भीडलाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
हवाई फायर गरेपछि अज्ञात समूह भागेका थिए । गाँज तस्करहरुको खोजबिन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।